सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति बेमौसमी वर्षासँगै आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ ।
कमलामाई नगरपालिका-६ को माढीबजार पुछार र वडा नम्बर-५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो । ढलानको तयारीमा रहेको पुलका सबै संरचना बगाएको निर्माण कम्पनीले जानकारी दिएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना बगाएको हो ।
पुल बगाउँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनीले गरेको छ । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण शुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।
योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् ।







