रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको बताएका छन् । सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने उनले बताए ।
आफू अर्थमन्त्री भएको बेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठूलो दबाब आएको तर अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको दाबी गरे ।
‘देशको आर्थिक समृद्धिका लागि हाम्रो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न छोडेर यो सरकारले आर्थिक विचलन ल्याउन खोजिरहेको छ । स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाई अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ । अहिले नयाँ स्टक एक्सचेन्ज विचौलिया समूहको योजनामा खुलाउन प्रक्रिया थाल्नु गलत छ । यो नीतिगत भ्रष्टाचारकै अर्को नमूना हो । नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा पनि सरकारले नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेलाई नै सुदृढ गर्नुपर्छ। निजीलाई दिने सरकारको योजनामा अर्बौंको भ्रष्टाचार र चलखेल हुँदैछ,’ उनले भने ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको थियो ।
अर्थ सन्जाल