काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।
असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ ।
चालु आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी यही पुस १० भित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ ।
अर्थ सन्जाल