काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन् । १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन् ।
‘सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन । यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन । कांग्रेस-एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्यक्त गर्नु भएको थियो,’ महरले भने, ‘त्यस अनुरूप काम देखिएन । प्रतिबद्धता अनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ ।’
त्यसैले वर्तमान सरकारलाई सात बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट् नभएको उनले औंल्याए । ‘कांग्रेस संसद्को ठूलो दलको हो । कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ । सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ,’ महरले भने ।
यतिबेला कांग्रेस जनताको भावना बुझ्न १०० दिने अभियानका माध्यमबाट जनताको घर दैलोमा रहेको र पार्टीप्रति थुप्रै सुझाव तथा आसा पाइएको उनले दाबी गरे । ‘हामीले देशभर जनतासँग कांग्रेस, सरकार र विकासका बारेमा संवाद तथा समीक्षा गरेका छौं । १६ पुसमा कांग्रेसको १०० दिने अभियान सकिएपछि हामी सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्छौं,’ उनले भने ।
त्यसैले सरकारलाई अपेक्षा अनुसार चल्न उनको सुझाव छ । देशका दुई ठूला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठूलो आसा रहे पनि बिस्तारै निराशामा परिणत भइरहेको आफूले १०० दिने अभियानका क्रममा देशका विभिन्न भूभागमा पुग्दा पाएको महरको भनाइ छ । उक्त निरासालाई आसामा परिणत गर्न सरकार सहमति अनुसार अगाडि बढ्नुपर्ने उनले बताए ।
अर्थ सन्जाल