काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले मूल अभियोग पत्रमा अभियोजन गरिएका प्रतिवादीहरू १९ जना तथा पूरक अभियोजन पत्रमा उल्लेखित प्रतिवादीहरू छविलाल जोशी, लिला पछाई, रवि लामिछाने समेतका सम्पूर्ण प्रतिवादीहरू समेतबाट असुल उपर गर्ने गरी सो बराबरको बिगो कायम गरेर मुद्दा दर्ता गरिएको जानकारी दिइन् ।
त्यस्तै रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी भएकाे छ । उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक न्यायाधीवक्ता शर्माले बताइन् ।
सहायक न्यायाधीवक्ता शर्माकाअनुसार आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।
सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम पीडित जाहेरवालाहरूलाई दिलाई भराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोग पत्रमा माग गरिएको छ ।
अर्थ सन्जाल