जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ। ओपनर विनोद भण्डारीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकालेको हाे ।

सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमसँग पराजित जनकपुरले भने अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आजै भएको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ५८ रन बनाए । उनले ५५ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । एनपीएलमा विनोदको यो पहिलो अर्धशतक हो ।

विनोदले पहिलो विकेटका निम्ति अर्का ओपनर सबै जैबसँग ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । किशोर महतोको ओभरमा जिम्मी निसमबाट क्याच हुनुअघि जैबले ३२ रन बनाए । उनले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

५६–१ को स्थितिबाट विनोदले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जिततर्फ डोहोर्‍याएका थिए । १५औँ ओभरको पहिलो बलमा ललित राजवंशीले निसमबाटै क्याच गराउनुअघि म्याकमुलमले २५ रन जोडे । उनले १९ बलमा एक चौका र एक छक्का प्रहार गरे । विनोदसँगै अविजित रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । अर्धशतकबाट पाँच रनले चुकेका निसमले २३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । निसमलाई १९औँ ओभरको चौथो बलमा स्कट कुग्गेलेनले बोल्ड गरे ।

सुभ कंशाकारले २४ बलमा चार चौकासहित २६ रन जोडे । सुभलाई नवौँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

ओपरन लहिरु मिलान्थाले १२ रन थप्दा कप्तान आसिफ सेख र अर्निको यादवले समान ११ रन बनाए । नियमित कप्तान अनिल साह हातमा लागेको चोटका कारण खेल नसक्ने हुँदा आसिफले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

शेर मल्लले दुई तीन बलमा तीन रन थपे । आकाश त्रिपाठी चार रनमा अविजित रहादा किशोर महतोले दुई रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सैब जैबले दुई विकेट लिए । स्कट कुग्गेलेनले एक विकेट लिए । दीपेन्द्रले जनकपुरका ओपनर लहिरु मिलान्था, अर्निको यादव र मोहसिन मोहमदको विकेट लिए । जैबले आसिफ सेख र हर्ष थाकेरको विकेट लिए । स्कट कुग्गेलेन र अभिनाश बोहराले समान एक विकेट लिए । कुग्गेलेन जनकपुरका जिम्मी निसमलाई पभेलियनको दिशा देखाएका थिए । अभिनाशले शेर मल्लाई ब्रान्डन म्याकमुलमबाट क्याच गराएका थिए ।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *