काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिए ।
उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । दुई वटा छुट्टाछुट्टै मुद्दामा उनीबिरुद्ध ६–६ महिना कैद सजाय तोकिएको छ । २०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने डीएसपी भाटले बताए । अदालतमा पेश गरेपछि उनी फैसला कार्यान्वयनको लागि कारागार बस्नुपर्नेछ ।
अर्थ सन्जाल