काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ ।
मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपालसरकार सरहभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ । यसैगरी, तोकिएको भन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि भनिएको छ ।
मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ । काम गरेकाहरुको सक्कल शैक्षिक लब्धांक पत्र राख्न नपाइने तथा अनुभवको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरी लागू गर्न मन्त्रालयले पत्राचार गरेको छ ।
यसका अलावा मन्त्रालयले न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि नर्सिङ तथा स्वास्थ्य जनशक्तिलाई बैंकबाट मात्र पारिश्रमिक उपलब्ध गराउन पनि पत्राचार गरेको छ । ‘गैरसरकारी क्षेत्रमा कार्यरत नर्सिङ तथा स्वास्थ्य जनशक्तिबाट सरकारले तोकेको न्यूनतम सुविधा नपाएको धेरै गुनासो प्राप्त गर्यौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने, ‘सरकारी र निजी क्षेत्रमा सरकारले तोकेको न्यूनतम सुविधा लागु होस् र कोही पनि समस्यामा पर्नु नपरोस् भनेर कानूनमा भएको व्यवस्था लागू गर्न यस्तो निर्णय गरेका हौं ।’
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्रालयले सबै सरकारी तथा मेडिकल कलेज तथा सामुदायिक र निजी अस्पतालमा निर्णय लागू गर्न पत्राचार गरिएको र अनुगमन समेत हुने जानकारी दिए ।
अर्थ सन्जाल