प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् ।

राष्ट्रिय कर्मचारी महासङ्घको १८औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् । उनले जरुरी परे संसद्को विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौँ जनतासँग मिलेर प्रतिक्रियावादीबिरुद्ध लड्ने चेतावनी पनि दिए ।

सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनको भनाई थियो । बिचौलियाहरूले घुमाएर अहिलेको सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको उनले बताए ।

प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा पनि राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *