विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।
बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यीकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यीकरणमा सहयोग पुर्याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ ।
मेयर कोइरालाले बैंकहरुको सहयोगकै कारण बरगाछीदेखि रोडशेषचोकसम्मको सौन्दर्यीकरण भइसकेको जानकारी दिए । नविल बैंकको कोशी प्रदेशमा ४० वटा शाखा छन् । जसमध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् । प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाए ।
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यीकरण गरिसकेको छ ।
महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ ।
अर्थ सन्जाल