बागमती । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका ४ लाख ७० हजार २ सय ५६ परिवारका १३ लाख ६५ हजार ३ सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्यांक विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौंमा ६ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
चितवनमा १ लाख ७९ हजार ३ सय ४५ परिवारमध्ये १ लाख २९ हजार ४ सय ३८ परिवार बिमित हुँदा काठमाडौँमा ५ लाख ४४ हजार ८ सय ६७ परिवारमध्ये ३० हजार ४ सय २० परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।
भक्तपुरको ६६ हजार ९ सय ५६ परिवार, मकवानपुरको ५४ हजार ५ सय २३ परिवार बिमामा आबद्ध भएको तथ्यांक छ । काभ्रेपलाञ्चोकका ४३ हजार ३ सय ५६ परिवार, नुवाकोटमा २३ हजार १ सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार ६ सय ३० परिवार, सिन्धुलीमा २७ हजार ७ सय ५८ परिवार, रामेछापमा २१ हजार १ सय ६५ परिवार, दोलखामा १५ हजार ६ सय ८ परिवार, धादिङमा २५ हजार ८ सय ३८ परिवार, रसुवामा ४ हजार ७ सय ६५ परिवार र ललितपुरमा ९ हजार ६ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।
कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको ८ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।
अर्थ सन्जाल