काठमाडौं। सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज अर्थात् मंसिर १२ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ जारी गर्न लागेको हो ।
सरकारले ३ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
विकास ऋणपत्र २०८४ को मंसिर १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने मंसिर १३ गते बिहीबार निष्कासन हुने जनाइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
अर्थ सन्जाल