काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्द्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।
नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तर्क्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्द्धनमा लाग्न आग्रह गरेकी हुन् ।
‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्द्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई उजागर गरी निर्यात प्रवर्द्धनमा लाग्नुहोला’ मन्त्री राणाको भनाई उद्धृत गर्दै उनको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा छ ।
उनले नियोग मार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
अर्थ सन्जाल