काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न स्वीकृति पाएको थियो।
कम्पनीले प्राथमिक चरणमा साधारण शेयरको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा यो शेयर बिक्री गर्नेछ।
यसमा वैदेशिक रोजगारमा रहेका नेपालीले मंसिर १९ गतेदेखि पुस ३ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपैयाँ बराबरको ६७ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र ५ प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गर्नेछ।
यसरी बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ। साथै वैदेशिक रोजगारीमा रहेकालाई बिक्री प्रस्ताव गरिएको शेयर बाँकी रहेमा सो समेत थप गरी सर्वसाधारणमा बिक्री खुला गर्नृे कम्पनीले बताएको छ।
यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेबोनबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
अर्थ सन्जाल