काठमाडौं । राजश्व संकलनको लागत वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १ हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ८४ पैसा खर्च भएको देखिएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर संकलन लागत ४६ पैसाले बढेको छ ।
विभागकाअनुसार आ.व. २०७९/०८० मा प्रतिहजार कर संकलन लागत ३ रुपैयाँ ३८ पैसा रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा प्रतिहजार कर संकलन लागत ३ रुपैयाँ ६२ पैसा रहेकोमा उक्त संकलन लागत घट्दै आ.व. २०७९/०८० मा प्रतिहजार २ रुपैयाँ २३ पैसासम्म पुगेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/०८१ लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ६ खर्ब ७७ अर्ब ७३ करोड लक्ष्य तोकिएको थियो । विभागबाट यस आर्थिक वर्षमा जम्मा ५ खर्ब ३३ अर्ब ३ करोड राजस्व संकलन भएको छ । जुन लक्ष्यको ७८.६५ प्रतिशत रहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा २ खर्ब ९८ अर्ब ३६ करोड आयकरको लक्ष्य तोकिएकोमा २ खर्ब ४१ अर्ब ९६ करोड संकलन भएको छ । जुन लक्ष्यको ८१.०९ प्रतिशत हो ।
यस्तै ४ खर्ब २५ अर्ब ८८ करोड मूल्य अभिवृद्धि करको लक्ष्य निर्धारण भएकोमा ३ खर्ब १४ अर्ब ६३ करोड संकलन भएको छ । यसैगरी अन्तःशुल्कः १ खर्ब ९७ अर्ब १४ करोड लक्ष्य तोकिएकोमा १ खर्ब ३९ अर्ब ७२ करोड संकलन भएको छ । यो लक्ष्यको ७०.८७ प्रतिशत हो ।
अर्थ सन्जाल