काठमाडौं । झण्डै पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ ।
गत वर्षको पुस २० गतेदेखि रमेश हमालको कार्यकाल सकिएसँगै नेतृत्वविहीन बनेको बोर्डले त्यसयता रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति प्रदान गरे पनि विवादित बनेको थियो ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन बोर्डले गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।
माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ । बीमा प्राधिकरणबाट विभिन्न ७ कम्पनीले माइक्रो इन्स्योरेन्स कार्यका लागि स्वीकृति पाएका छन् । जसमध्ये ३ वटा लाइफ र ४ वटा ननलाइफ माइक्रोइन्स्योरेन्स कम्पनी छन् ।
अर्थ सन्जाल