काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार डा.नवराज अधिकारी र कृष्णबहादुर कार्कीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएको छ। आइतबार सिंहदरबारमा भएकाे अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ।
आज दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरे । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे ।
यसअघि दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ ।
अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।
अर्थ सन्जाल