काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाइ पदबाट हटाउने निर्णय प्रशासकिय अदालतले बदर गरेको छ। कार्तिक २७ गते अदालतले गरेको यो निर्णयसँगै आचार्यको पुनर्वाहाली भएको छ। सर्वोच्च अदालतबाट यसअघि भएका विभिन्न ५ वटा आदेशलाई नजिर मान्दै प्रशासकीय अदालतले आचार्यको पुनर्वाहाली गरेको हो ।
बैंककी सिनियर डेपुटी गभर्नर निलाम ढुंगानाले आँफूमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भएको भनी दिएको उजुरीका आधारमा आचार्य राष्ट्र बैंकको विभागीय कारबाहीमा परेका थिए। तर आचार्यले उक्त निर्णयविरुद्ध बैंक संचालक समितिलाई समेत विपक्षी बनाएर असार २ गते दायर गरेको मुद्दाको अन्तिम फैसला गर्दै आदलतले उनको पद बहाली गर्ने निर्णय गरेको हो । प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्य कृष्णप्रसाद पौडेल र रिता मैनालीको इजलासले आचार्यलाई पदबहाली गर्ने निर्णय गरेका हुन् ।
आदलतले नेपाल राष्ट्र बैंकका गभर्नर लगायतका उच्च पदस्थहरुले गरेको निर्णय बदर गरेसँगै उनीहरुको योग्यता र कार्यक्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको छ।
२०८० साल पौष २७ गते शुक्रबार नेपाल राष्ट्र बैंकले नगरकोट स्थित होटेल मिस्टिक माउन्टेनमा स्ट्रेस मेनेजमेन्ट नामक कार्यक्रमको आयोजना गरेको थियो। जसमा बैंकका उच्च पदस्थ कर्मचारी र डेपुटी गभर्नर ढुंगानासहित गभर्नर महाप्रसाद अधिकारी स्वयम् उपस्थित थिए ।
कार्यक्रम सकिएको झन्डै एक महिनापछि ढुंगानाले आँफूमाथि निर्देशक आचार्यले यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगाएर राष्ट्र बैंकमा उजुरी दिईन् । सोहि उजुरीका आधारमा आचार्यलाई पदबाट हटाइएको थियो।
राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त
ढुङ्गानाले आँफूलाई गर्भनर हुनबाट रोक्न षड्यन्त्र भइरहेको आरोप लगाउँदै एकजना समकक्षी र एक कार्यकारी निर्देशकमाथि घटनाको दोष देखाएर उनीहरुलाई समेत कारबाही गर्नुपर्ने मागसहित महिला आयोगमा समेत उजुरी दिईन्।
केहि समयपछि महिला आयोगले अदालत जान बाटो खुल्ला गरेको भन्दै एउटा प्रतिवेदन सार्वजनिक भयो। जसमा आचार्यसहित अन्य २ जना कर्मचारी पनि आंशिक दोषी देखिएको भन्ने लेखिएको थियो । तर महिला आयोगको प्रतिवेदन भन्दै बजारभरी फिँजिएका ती प्रतिवेदन समेत आधिकारिक नभएको राष्ट्रका एक कार्यकारी निर्देशक बताउँछन् । उनी भन्छन् ,- ‘ महिला आयोगबाट आएको भनिएको उक्त प्रतिवेदन झुट्टा हुन्। हामीले बुझ्दा आयोगले यस सम्बन्धमा कुनै पनि किसिमको निर्णय गरेको छैन। कोहि व्यक्तिको स्व: विवेकले निर्णय गरेर टिप्पणी उठाएका पत्र आधिकारीक होइनन्।’
यता, ढुंगानाले भने बैंकको उच्च व्यवस्थापनमा आँफूमात्र एकजना महिला रहेको र गभर्नर बन्नबाट रोक्न बैंकभित्रै अनेक षडयन्त्र भईरहेको बताउँदै आएकी छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैतबाट सकिँदैछ। अधिकारीपछि गभर्नर को बन्ने भन्ने चर्चा छ। गभर्नर बन्ने प्रतिष्पर्धाका बीच घटनालाई अतिरन्जित गरिएको कार्यक्रममा सहभागी कर्मचारीहरु बताउँछन्। गभर्नरका लागि बैंकभित्रका प्रमुख दावेदार डेपुटी गभर्नरद्वय ढुंगाना र बम बहादुर मिश्र हुन्। उक्त घटनामा ढुंगानाले आचार्यमात्र नभई आफ्ना समकक्षी तथा गभर्नरका दावेदारमाथि समेत मिथ्या आरोप लगाएकाले उनीहरुलाई कारबाही गराएर आफ्ना लागि गभर्नर बन्ने बाटो क्लियर गर्न खोजिएको उनीहरुको दावी छ।
यधपी नेपाल राष्ट्र बैंकको गभर्नरको नियूक्ति भने सत्तापक्षको स्वार्थमा हुने गर्दछ।
अर्थतन्त्र सुधारको लागि नेपाल राष्ट्र बैंकको व्यवस्थपकिय भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सचेत भएर जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा व्यवस्थापनका नेतृत्व नै व्यक्तिगत समस्या, आरोप प्रत्यारोप तथा एक अर्काबीच प्रतिशोध साध्नमा व्यस्त छन् । बैंकको उच्च व्यवस्थापनमा देखिएको गलत प्रवृति, राजनीतिक हावी, लैङ्गिक विभेद , गैर जिम्मेवार पात्रका कारण केहि समययता नेपाल राष्ट्र बैंक आँफै विवादमा तानिइरहेको छ ।
अर्थ सन्जाल