काठमाडाैं । सोल्टी होटल लिमिटेडको ५०औं वार्षिक साधारणसभा आगामी पुस ४ गते आयोजना हुने भएको छ ।
होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५०औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ का वार्षिक आर्थिक विवरणहरु असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र कम्पनीको सहायक कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।
अर्थ सन्जाल