काठमाडौं । प्रभु बैंक लिमिटेड सीईओ अशोक शेरचनले अर्थसंजालमा प्रकाशित समाचारको खण्डन गरेका छन्। शेरचले बैंकको लेटरप्याडमा लेखेर आँफैले हस्तक्षर गरी प्रकाशित समाचारको खण्डन गरेका हुन्। शेरचनले समाचारको खण्डन गर्दै भनेका छन्,-‘ आम पाठकहरुलाई नकारात्मक सोच एवं गलत धारणा बनाउन प्रेरित गर्ने उद्देश्यले मेरो तस्विर सहित मेरो व्यक्तिगत चरित्र हत्या गर्ने एवं सामाजिक प्रतिष्ठामा प्रत्यक्ष नकारात्मक असर पर्ने समाचार प्रकाशित भएकोमा खण्डन गर्दछु।’
शेरचनले आँफू विरूद्ध प्रहरी प्रधान कार्यलयमा परेको उजुरी समेत झुट्टा भएको भन्दै समाचारप्रति आपत्ति जनाएका छन्। जबकी हामीले उनी र सीआईबीका एक अधिकारी विरूद्ध परेको उजुरी जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ। जसमा सीआइबीका ति अधिकारीको आग्रहमा उनको नाम गोप्य राखिएको छ। उजुरी हामीसँग सुरक्षित छ। स्मरण रहोस उनीविरूद्धको उजुरी छानबिन भएर उक्त प्रतिवेदन गृह मन्त्रालयमा समेत पुगिसकेको छ।
त्यस्तै शेरचनले अर्थसंजालमा प्रकाशित अर्को समाचार कर्मचारी सरुवामा मनपरी भएको सम्बन्धको समेत खण्डन गर्दै भनेका छन्-‘ यो नियमित प्रकृया हो, यसमा मेरो कुनै संलग्नता छैन।’ तर हामीले शेरचनकै निर्देशनमा पटक- पटक सरुवा गर्दै काम गर्ने मनोवल गिरेका कर्मचारी जसलाई एक महिनामै सरुवा गरिएको त्यसमा पनि बिशेष गरी तत्कालिन सेन्चुरी बैंकका कर्मचारीहरुलाई टार्गेट गरिएको बिषय बैंकको सर्कुलर सहितको प्रमाण प्रकाशित गरेका छौँ। उनकै दवावमा केहि दिन अघिमात्रै तत्कालिन सेन्चुरी बैंकका १८ जना सिनियर कर्मचारीए बैंक छोडिसकेका छन्।
त्यस्तै शेरचनले पोखरा प्रादेशिक कार्यलयमा नियम विपरित कार्यरत उनकी सम्धिनीको समाचारका बिषयमा समेत खण्डन गरेका छन्। उनले आफ्नो निजि जीवनमा परिवारको बिषय समाचार बनाईको र सोध्दै नसोधी समाचार बनाईएको भनेर आपत्ति जनाएका छन्। तर उनकी सम्धिनी शान्ती शेरचन प्रभु बैंक लिमिटेड प्रादेशिक कार्यलयमा नियमविपरित करारमै छिन्। उनीसँग हामीले करिव आधा घण्टा कुराकानी गरेका छौँ जसमा उनले पूर्व अध्यक्ष भट्टचन र सीईओ शेरचनले फुर्सदको समय बैंकमा व्यतित गर्नु भनेकाले बसेको र धेरैतिरबाट प्रश्न आएकाले अब छोड्ने तयारी गरेको बताएको कुरा उक्त खण्डन गरिएको समाचारमै उदृत गरिएको छ।
त्यस्तै शेरचनले प्रभु बैंकबाट पूर्व अध्यक्ष भट्टचनले कर्जा लिएको बिषयको समेत खण्डन गरेका छन्। उनले यस सम्बन्धमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले हेर्ने र अहिले सम्म प्रश्न नगरेको भन्दै खण्डन गरेका छन् । जबकी भट्टचनका नाममा अहिले पनि प्रभु बैंकमा कर्जा भएको र जुन कर्जा निष्क्रिय भैसकेको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रतिवेदनमै लेखिएको छ। प्रकाशित समाचार त्यसैको प्रतिवेदन हो। नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा अनुसन्धान गरिरकेको जनाएको छ। भट्टचन स्वयंले पनि यस बिषयलाई स्वीकार गरेका छन् र यो कर्जा सेन्चुरी बैंकबाट आएको र अब अर्को कुनै बैंकमा सार्न लागेको उनको भनाई हामीले समाचारमा जनाएका छौँ।
त्यस्तै शेरचनले प्रभु बैंकमा पद्मा कोलोनी र पद्मा मर्चेन्टका नाममा रहेको कर्जा जुन निष्क्रिय भइसकेको छ, यसको समेत खण्डन गरेका छन्। उनले यस कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले प्रश्न नगरेको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। जबकी हामीले प्रकाशन गरेको उक्त समाचार नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको गत आसारमसान्तसम्मको प्रतिवेदन हो। जसको प्रमाण हामीसँगै सुरक्षित छ। उनले यस सम्बनधमा हामीले शेरचनलाई बुझ्न बारम्बार उनको कार्यालयमा पुगेर भेट्ने समय माग गरेका छौँ। तर उनले हामीसँग भेट गर्न चाहेनन्। उनलाई टेलिफोन सम्पर्क गर्दा सबैतिर ब्लक गरेकाले हामीले उनको व्हाट्सयाप मा समेत एसएमएस गरेका छौँ। जसको उनले आजसम्म पनि कुनै प्रश्नको जवाफ दिएका छैनन्। उनले स्रोतमाथि प्रश्न गरेका छन् तर स्रोत जोगाउनु हाम्रो प्रमुख दायित्व हो।
त्यस्तै शेरचनले गैर कानूनी तरिकाले कर्जा प्रवाह गरेको बिषयको पनि खण्डन गरेका छन्। उनलेआँफू प्रभु बैंकको प्रमुख कार्यकारी पदमा रहँदा सिमा र परिधीभित्र रहेर कर्जा दिएको बताएका छन्। जबकी उनले आफ्नै ससुरा हरिकृष्ण भट्टचन र जानकी मेडिकल कलेजका नाममा स्वार्थ बाझिने गरी कर्जा प्रवाह गरेका छन्।
यस सम्बन्धमा सार्वजनिक रुपमा समाचार बाहिरिएपछि ससुरा भट्टचनले उक्त कलेज अरुको नाममा नामसारी पनि गरिसकेका छन् तर उनीविरूद्ध केन्द्रिय अनुसन्धान व्युरो सिआईबीमा समेत उजुरी परेर अनुसन्धानकै क्रममा छ। यस बिषयको समेत उनले खण्डन गरेका छन्।
यस्तो छ सीईओ शेरचनको खण्डन
अर्थ सन्जाल