काठमाडौं। चालु आर्थिक वर्षको ४ महिनामै झण्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको चौमासिक अवधि अर्थात साउन देखि कात्तिकसम्ममा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो । योसँगै कात्तिक मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब रहेको थियो ।
नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.१४ प्रतिशत हो । यसमध्ये आन्तरिक जीडीपीको २१.९५ र बाह्य २२.१९ प्रतिशत छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ छ । गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो ।
पछिल्लो ४ महिनामा कुल १ खर्ब ६५ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब ४४ अर्ब आन्तरिक ऋण र २१ अर्ब ७२ करोड बाह्य ऋण थपिएको हो । यसअवधिमा सरकारले १ खर्ब ८ अर्ब १४ करोड ऋण तिरेको छ भने ४ महिनामा ९१ अर्ब ७३ करोड आन्तरिक ऋण तथा १६ अर्ब ४१ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल