काठमाडाैं । एनसेल र नेपाल क्रिकेट संघ (क्यान)बीच प्रिमियर लिग (एनपिएल)को ‘पावर्ड बाई’ प्रायोजनका लागि साझेदारीको घोषणा भएको छ ।
प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरे । अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
यो साझेदारी केबल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ मार्फत एनपिएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ। यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकहरूका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ ।
मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् ।
सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख सहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
एनसेल र एनपिसी नेपालको यस साझेदारीमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ ।
अर्थ सन्जाल