काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको मुनाफाबाट नेपाल सरकारलाई ३७ अर्ब २२ करोड दिने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड खुद आम्दानी गरेको हाे । जुन अघिल्लो आर्थि वर्षको तुलनामा २१.९६ प्रतिशतले बढी हो ।
एक वर्षको अवधिमा झण्डै ७४ अर्ब आम्दानी गरेको राष्ट्र बैंकले सरकारलाई ३७ अर्ब २२ करोड उपलब्ध गराउने निर्णय गरेकोे छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाएका हुन् ।
कात्तिक २९ गते बैंकको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्याएर बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको गभर्नर अधिकारीले जानकारी गराए । राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ-हानि समायोजन अघि गत आर्थिक वर्षमा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद आम्दानी गरेको जनाएको छ । साथै २०८१ सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको जनाएको छ ।
आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य रहेकोमा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्ष २०८०-८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा १ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५३० रहेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति-दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड कायम भएको छ । यस्तै, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति-दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म २ खर्ब ५७ अर्ब ७२ करोड कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरुको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।
आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरुले पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा-सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएका छन् ।
आर्थिक वर्ष २०८०-८१ मा ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । २०८१ असार मसान्तसम्ममा कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरु चलनचल्तीमा रहेका छन्।
अर्थ सन्जाल