काठमाडौं। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ। गत भदौ ५ गते आईजीपी बसन्त कुँवरको तोक आदेशबाट ७२७ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन समितिले अनुसन्धान गरिरहेको पाइएको छ।
सीइओ शेरचनविरुद्ध नेपाल राष्ट्र बैंकमा पटक-पटक उजुरी परेको भए पनि बैंकले कुनै पनि किसिमको कारबाही प्रकृया अघि बढाएको छैन। प्रभु बैंकमा रहेर शेरचनले दर्जनौं वित्तीय अपराध गरेको तथ्य प्रमाणसहित आफ्नै सुपरिवेक्षण विभागले निकालेको प्रतिवेदनमाथि नेपाल राष्ट्र बैंकले समेत कारबाही गर्ने कुनै तदारुकताका नदेखाएकै बेला सीइओ शेरचनबिरुद्ध सीआईबीका एक अधिकारीसँग मिलेर आर्थिक अपराध गरेको भन्दै प्रहरीनै उजुरी परेको तथ्य बाहिरिएको छ।
शेरचनबिरुद्ध प्रहरीमा परेको उजुरीमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीका एक उच्च पदस्थ अधिकारीसँग मिलेर शेरचनले प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज कुमार न्यौपानेलाई पक्राउ गरी उनी निकटकी कर्मचारी रश्मी पन्तलाई सीइओ बनाउने योजना बनाएको उल्लेख गरिएको छ। उजुरीमा शेरचनविरुद्ध सीआईबीमा परेका उजुरी र उनले गरेका वित्तीय अपराध ढाकछोप गर्न ती प्रहरी अधिकारीले शेरचनबाट आर्थिक लाभ समेत लिएको जनाइएको छ।
यस्तो छ शेरचन र सिआईबी अघिकारी विरुद्ध परेको उजुरी
श्री कार्यालय प्रमुख ज्यू प्रहरी प्रधान कार्यालय
नक्साल, काठमाडौं
उपरोक्त सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीका एक अधिकारी ( नाम हटाइएको) सेन्चुरी बैंक कर्जा हिनामिना प्रकरणमा स्वार्थ बाझिने गरि कार्य गरेको बुझिएको छ । उनले हालको प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँगको मिलेमतोमा तत्कालिन सेन्चुरी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेलाई पक्राउ गर्न सहयोग गरेको तथ्य फेला परेको छ ।
१. सिआईबी अधिकारीले स्वर्थ बाझिने गरि प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ पक्राउ पर्नुभन्दा एकहप्ता आगाडि मात्रै सोहि बैंकबाट छुट्टै एक नयाँ कम्पनी खडा गरि सो मार्फत् सीईओ शेरचनको ठाडो निर्देशनमा १५ करोड रुपैयाँ लिएको देखिन्छ । सिआईबी अधिकारी संलग्न भएको र राजु कडेल हिस्सेदार रहेको पदमा कोलोनी प्रालि का नाममा पहिले नै ६७ करोड रुपैयाँ रियल स्ट्रेट कर्जा प्रवाह भएको र उक्त कर्जा तिर्न बारम्बार ताकेता गर्दासमेत लिएदेखि आजसम्म कतिपनि तिरेको देखिँदैन । कुनै पनि प्राइभेट कम्पनीमा ५० करोड भन्दा बढी कर्जा प्रवाह गर्दा उक्त कम्पनीको क्रेडिट रेटिङ गर्नुपर्ने कानुनी व्यवस्था छ । तर यस कम्पनीमा कर्जा प्रवाह गर्दा कम्पनीको क्रेडिट रेटिङ नै नगरी कर्जा दिएको देखिन्छ । कम्पनीको फईनासियल एनलाईसीस नगरी यति ठूलो रकम प्राइभेट कम्पनीमा दिएको तर जुन प्रयोजनका लागि कर्जा दिएको सो मा प्रायोग नगरी व्यक्तिगत रुपमा रकम प्रयोग गरेको राष्ट्र बैंकले भनेको छ ।
यस कम्पनीको धितो मुल्यांकन गर्दा नापी विभाग नयाँ नक्सा पनि ल्याईएको छैन भने मालपोत कार्यालयबाट हालसाविक पनि गरिएको छैन । हचुवाका भरमा कर्जा प्रवाह गरेको भनि राष्ट्र बैंकको सुपरिवेक्षणले भनिसकेको छ । यसमा नेपाल राष्ट्र बैंकले समेत लस क्याटोगोरीमा राखेर लिलामी प्रक्रिया अघि बढाउन निर्देशन दिएको अवस्था छ । सिआईबी अधिकारी संलग्न पदमा कोलोनीमा ५० औँ करोडभन्दा बढी कर्जा प्रवाह भएको र उक्त कर्जाको प्रोभिजन गरिसकेको देखिनु, परियोजना धितो कर्जामा ५० देखि ७० प्रतिशतसम्म ऋण दिन पाउने विश्वको बैंकिङ अभ्यास र सोहि अनुरुप नै नेपालका बैंकहरुले काम गरिरहेको अवस्थामा तत्कालिन सेन्चुरी बैंकका सिनियर डेपुटी न्यौपाने सहितलाई धितो मूल्यांकनको दोब्बर कर्जा दियो भन्ने दावीसहित बैंकिंग कसुरमा पक्राउ गरिनु, पक्राउ पर्नुभन्दा अघिमात्रै सीईओ शेरचनको ठाडो निर्देशनमा १५ करोड नयाँ कम्पनीमा ट्रान्सफर हुनु आदि घटानाले पनि सिआईबी अधिकारीले अख्तियारको दुरुपयोग गरि व्यक्तिगत स्वार्थ लिएको प्रष्ट हुन्छ ।
२. त्यसैगरी सिआईबी अधिकारीले प्रभु बैंकका विरुद्ध नेपाल राष्ट्रबैंक मार्फत आएको उजुरी लुकाएका छन् । शेरचनविरुद्ध नेपाल राष्ट्र बैंक हुँदै सीआईबीसम्म बैंकिङ अपचलनको मुद्दा परेको थियो । उक्त विषयमा सिआईबी अधिकारीले सुरुमा अनुसन्धान भइरहेको र छानबिनको बिषय बोल्न नमिल्ने जनाए पनि आज उक्त मुद्दा र बैंकका सीइओ शेरचनका बिरुद्द कुनै पनि उजुरी पर्दै नपरेको हास्यास्पद तर्क दिने गरेका छन् । २०७८ असोज १२ गते पनि प्रभु बैंकमा भएको गैरकानुनी कार्यहरुको अभिलम्ब छानबिन गरीपाउँ भन्दै परेको उजुरीका सम्बन्धमा नेपाल राष्ट्र बैंकले समेत कुनै कारबाही प्रक्रिया अघि बढाएको देखिँदिन ।
३. यतिमात्र होईन, सिआईबी अधिकारीले बाल संगठनको करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा समेत व्यक्तिगत स्वार्थ बटुलेका छन् । यस प्रकरणमा सीआईबीले २०८१ बैसाख २७ गते २० जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको तर हालसम्म पनि २० जनामध्ये एक जना पनि पक्राउ परेका छैनन्। तर यस बिचमा सिआईबी अधिकारीले भने यस प्रकरणमा परेका सबैलाई भेटेका छन् । जसमा उनले २९ रोपनी जग्गा हडप्ने दाउमा रहेको प्रमुख योजनाकार रहेको बिशाल ग्रुपका मालिकासँग साँठगाँठ गरेका छन्।
यस क्रममा उनले बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डेलाई भेटे गरेका छन् । त्यस्तै सिआईबी अधिकारीले उनीमार्फत बिशाल ग्रुपका संचालक तुलसीराम अग्रवालसँग स्वयम्भुको एक स्टार होटेलमा र होटेल एम्बेसडरमा उनका कर्मचारीमार्फत् बारम्बार भेटेर अहिले पनि करोडौं बार्गेनिंग गरिरहेका छन् ।
यसरी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो जस्तो अति जिम्मेवार पदमा रहदा या नरहदा समेत अपराधको गम्भीरता, अपराधको प्रकृति, अपराधमा संलग्न गिरोह वा त्यसले समाजको शान्ति सुरक्षामा पार्ने असरको आधारमा अनुसन्धान गरि कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा उल्टै पदको मर्यादा विपरित अख्तियारको चरम दुरुपयोग गरिरहेको जानकारी गराउदै यस सन्दर्भमा निष्पक्ष छानविन गरि आवश्यक कारवाहीका लागि आग्रह गरिन्छ ।
यस सम्बन्धमा सीआईबीका ती अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् ।
उनी भन्छन्,-‘ यस सम्बन्धमा मलाई कुनै जानकारी छैन । मलाई कसैले सोधेको पनि छैन। उजुरी परेको छ भन्ने कुरा तपाईहरु जस्तै पत्रकार साथीहरुबाट थाहा पाएँ तर उजुरी बेनामी रैछ त्यसैले फेक हो। एआईजी साबलाई फोकस गरेर हालिएको रैछ।’
बालमन्दिर जग्गा प्रकरणमा अशोक अग्रवालसँग तपाईलाई जोडिएको रहेछ नि भन्ने हाम्रो प्रतिप्रश्नमा उनले कसैलाई पनि नचिन्ने बताए ।
त्यस्तै, हामीले बैंकका सीईओ शेरचनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भने रश्मी पन्तले फोन काटेर ब्लक गरिन् तर जवाफ दिइनन्।
अर्थ सन्जाल