काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।
नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।
डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे ।
रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन् ।
नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हातपारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।
अर्थ सन्जाल