काठमाडौं। अर्थसंजाल डटकम ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेशको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश व्यक्त गर्दै उनले लोकतन्त्रमा राष्ट्रियताको संरक्षण गर्दै सुशासनसहितको आर्थिक विकास गर्नमा अर्थसंजाल महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीओलीले सन्देशमा भनेका छन्,-‘राष्ट्रियता, लोकतन्त्र, देश, जनता, सुशासन, विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्न र त्यसको अभिवृद्धि गर्दै सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न अर्थसञ्जाल डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्रीको ओलीको शुभकामना सन्देश
अर्थसञ्जाल मिडियाद्वारा सञ्चालित अर्थसञ्जाल डटकम स्थापनाको आठौं वर्ष प्रवेशका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
समाजको महत्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, देश, जनता, सुशासन, विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्न र त्यसको अभिवृद्धि गर्नका निम्ति भूमिका खेल्नु पर्दछ । सकारात्मक सामाजिक विकासलाई निषेध, अस्थिरता र अराजकताको प्रवर्द्धन गर्ने प्रवृत्तिलाई निरुत्साह गर्न सञ्चार क्षेत्र नै सक्रिय रहनु पर्दछ । कतिपय अवस्थामा तथ्यहीन, पूर्वाग्रही र गैर व्यवसायिक चरित्रका कारण स्खलित र अविश्वसनीय हुन पुगेको सञ्चार जगतको गरिमालाई प्रवर्द्धन गरी यसलाई तथ्युक्त, विश्वसनीय र निष्पक्ष अंगका रुपमा स्थापित गर्न मुलुकको सञ्चार क्षेत्रले सफलता पाउन सकोस् भन्ने कामना गर्दछ ।
अहिलेको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ । त्यसैले प्रेस स्वतन्त्रताप्रतिको हाम्रो निष्ठा व्यवहारसिद्ध छ । अहिलेको सरकारले राष्ट्रका अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ। यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रमहरु एव ती नीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित अघि बढिरहेका छौं। राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न अर्थसञ्जाल डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, आठौँ वर्ष प्रवेशका अवसरमा पुनः बधाई तथा सुभकामना व्यक्त गर्दछु ।
अर्थ सन्जाल