काठमाडौं । अर्थसंजाल डटकम ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा स्थापना भएको यस अनलाइन संचारमध्यम विभिन्न आरोह अवरोह एवंम् संघर्षका अप्ठ्यारा खुड्किला पार गर्दै यहाँसम्म आइपुगेकोमा हामी अत्यन्त हर्षित छौँ ।
अर्थासंजालको स्थापना पछि नेपालमा ठूला उपलब्धीहरु भएर देशमा स्थायी सरकार आउने र आर्थिक समृद्धिका लागि जनतालाई आशावादी समेत बनाए । तर देशमा सरकार छ भन्ने महसुस नागरिकले अझैसम्म गर्न सकेका छैनन्।
यतिबेला देशका प्रमुख आर्थिक सूचकहरू नकारात्मक छन्। अर्थतन्त्रमा सुस्तता देखिएको छ। अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिए पनि आन्तरिक क्षेत्रमा खासै सुधार हुन सकेको अवस्था छैन। अर्थतन्त्रको बाह्य सूचक विप्रेषणको स्थिति राम्रो देखिएको छ। १४ महिना भन्दा बढी आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति छ। तर समृद्द अर्थतन्त्र विकासका लागि बाह्य क्षेत्र मात्र नभई आन्तरिक पक्ष पनि उत्तिकै सबल हुनुपर्छ। अर्थतन्त्रका महत्वपूर्ण हिस्सा ओगटेको बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको अवस्थामा पनि लगानीमैत्री वातावरणको अभावमा कर्जा लगानी अपेक्षित रुपमा हुन सकेको अवस्था छैन। जसका कारण अर्थतन्त्र चलायमान बन्न सकिरहेको छैन।
संकटमा रहेको अर्थतन्त्र सुधारको प्रमुख जिम्मेवारी राज्यको हो। अर्थतन्त्रमा समस्या देखिनुका पछाडिको कारण पत्ता लगाएर यसको समाधानका निम्ति उपयुक्त नीति तर्जुमा गर्ने र सोहि अनुरुपका अल्पकालीन मध्यकालीन एवंम् दिर्घकालीन कार्ययोजना तय गर्ने दायित्व राज्यको हो। मुलुकमा उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गरी नयाँ उधोगधन्दा स्थापना गर्ने, उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, विभिन्न कारण पलायन भएको दक्ष जनशक्तिलाई विकास निर्माण लगाएर समृद्ध मुलुक निर्माण गर्ने, लगानीकर्ताको लगानी सुरक्षाका साथै मनोबल बढाएर उत्पादनका निम्ति उत्प्रेरित गर्दै समग्र अर्थतन्त्र सुधार्नेतर्फ सरकारको कुनै चासो र चिन्ता गरी ठोस कार्य योजना बनाएको देखिँदैन।
राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा देखिएको छ। अर्थतन्त्र सुधार यवं विकासको महत्वपूर्ण अभिभारा बोकेको सरकार सत्ता परिवर्तनमै रुमलिएको छ। ‘काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं सरकार समाधान खोज्नेभन्दा समस्या बढाउने मार्गमा उद्दत देखिन्छ। अर्थतन्त्रलाई सबल र गतिशील बनाउन सरोकारवालासँग छलफल गर्ने, बहस पैरवी गर्ने, सुझाव संकलन गर्ने र ठोस योजनासहित काम अघि बढाउने राज्यको जिम्मेवारी हो। आन्तरिक राजनीतिक खिचातानी आरोप प्रत्यारोप र सरकार परिवर्तनको बेमौसमी खेलमा राज्यको सम्पूर्ण शक्ति खर्च भईरहेको अवस्था छ। एकापसमा दोषारोपण गरेर पन्छिने प्रवृत्ति बढेको छ ।
अर्थव्यवस्थाका जिम्मेवार निकाय अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायतका नेतृत्व योग्यता क्षमता र अनुभवका आधारमा भन्दा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गर्ने प्रवित्तिका कारण नेतृत्वले निष्पक्ष ढंगबाट काम गर्न सकिरहेको छैन। पटक-पटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा पर्दा अर्थतन्त्र झनै धरासायी बन्न पुगेको छ।
हामीले आठौँ वर्षमा प्रवेशको अवसरमा अर्थतन्त्रमा देखिएको समस्या उजागर गर्ने मात्र नभई यसको पूर्ण समाधान खोज्ने प्रयास समेत गरेका छौँ। राज्यका सबै निकायले जिम्मेवारीपूर्वक काम गर्न सके समस्याको समाधान हुन्छ भन्ने अपेक्षा गर्दै देशको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने जिम्मेवार निकायका नेतृत्वहरुको धारणा समेटेर आर्थिक विशेषांकमार्फत सुझावसहितको समाधान समेत पस्केका छौँ।
यसर्थ सरकारले गम्भीरतापूर्वक लिएर समयमै अर्थतन्त्र सुधार यवं विकासका महत्वपूर्ण कदम चाल्नुपने देखिँन्छ। त्यस्तै, सरकारले नीतिगत स्थायित्व सँगसँगै राजनीतिक स्थायित्वको समेत सुनिश्चित गर्दै भविष्यमा हुने अप्रत्यासित दुर्घटनाबाट बच्न बेलैमा सचेतना अपनाएर अभिभावकीय भूमिकाको प्रत्याभूति दिलाउन जरुरी छ।
अन्त्यमा, स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई निरन्तरता दिँदै अगाडि बढ्ने हाम्रो दृढ संकल्पसहितको अविछिन्न यात्रा लक्ष्य आगामी दिनमा अझै मजबुत पनि हुने प्रतिवद्धता व्यक्त गर्दाछौँ। हामीलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण साथ, सहयोग र सल्लाह सुझावसहित हौसला दिने आमपाठक वर्ग एवम् सहकार्यको हात मिलाएर सफलताको सहयात्री बन्ने सम्पूर्ण विज्ञापनदाताहरुप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
सिर्जना वाग्ले