काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् आजदेखि बंगलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उनले भने, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”
उनले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरे ।
बंलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बंगलादेश सरकारलाई उनले धन्यवाद दिए । उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाइ थियो । ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए ।
नेपाल–भारत र बंगलादेशबीच गत असोज १७ (अक्टोबर ३) का दिन त्रिपक्षीय सम्झौता भइ भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो । आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए । उनले नेपालका विभिन्न जलविद्युत् परियोजनामा भारतले लगानी गरेको बताउँदै उक्त परियोजना सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने विश्वास व्यक्त गरे ।
मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सरकार सहयोग गर्न तयार रहेको बताए । हरित ऊर्जाको दीगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उनको भनाइ थियो ।
बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए । यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एसियाली देशलाई समृद्ध बनाउँदै दीगो विकासलाई सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले कार्वन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बंगलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युत्ले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एसियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए ।
सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बंगलादेशको भेरमारासम्म पु–याइनेछ । यो यामका लागि आज एक दिन मात्र बिजुली निर्यात हुनेछ ।
कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागिता रहेको थियो ।
अर्थ सन्जाल