बुटवल । सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।
लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए ।
बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।
सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
अर्थ सन्जाल