काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार (सेकेन्डरी मार्केट) मा एकै व्यक्ति प्रमुख भएर लगानीकर्ता गर्ने ठूला कम्पनीहरुको अवस्था र यसले बजारमा पारेका प्रभावबारे सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार अधिकांश कम्पनी त्रिवेणी समुहको रहेको पाईएको छ ।
बोर्डको प्रतिवेदन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुख भएर फरक- फरक कम्पनीमार्फत लगानी गरेका छन्। जसमा बिरेन्द्र कुमार संघाई, पुरुषोत्तमलाल संघाई, गोविन्द लाल संघाई, रामचन्द्र संघाई, सुभाषचन्द्र संघाई, सुशिलादेवी संघाई लगायत त्रिवेणी समूहका व्यक्तिहरु रहेका छन्। यो समूहले उद्देश्य फरक-फरक राखी गुपचुप रुपमा शेयर बजारमा लगानी गरिने गरेको समेत बोर्डले जनाएको छ।
प्रतिवेदन अनुसार विरेन्द्र कुमार संघाईका नाममा १७ वटा, पुरुषोत्तम लाल संघाईको नाममा १९ वटा , गोविन्द लाल संघाईको नाममा २० वटा , रामचन्द्र संघाईको नाममा १३ वटा , सुभाषचन्द्र संघाईको नाममा १३ वटा र सुशीलादेवी संघाईको नाममा ४ वटा कम्पनी रहेका छन्।
यी कम्पनीहरुको उद्देश्य रियल स्टेट तथा आवास निर्माण,कृषि, प्लाष्टिकजन्य वस्तु उत्पादन,कपडा उत्पादन आदि फरक फरक राखिएका छन् । तर यी कम्पनीहरुले उदेश्य विपरीत दोस्रो बजारमा शेयर कारोबार गरी बजारलाई प्रभावित पारिरहेका छन्। जसले गर्दा बजार यिनैको कब्जामा छ।
बोर्डले एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी एकै व्यक्ति संलग्न भएका धेरै लगानी कम्पनीहरु बजारमा सक्रिय हुँदा एकै व्यक्तिले आफ्नो एक कम्पनीबाट शेयर विक्री गरी आपूर्ति बढाउने र आफ्नै स्वामित्वमा रहेको अर्को कम्पनीबाट पुन: खरिद गर्ने गरेकोले बजारको प्रभावकारीतामा नकारात्मक असर पारेको समेत जनाएको छ। संघाई ग्रुपको यस्तो अवैधानिक कार्य र गलत प्रवृत्ति तत्काल रोकी यी व्यक्ति र उनीहरुद्वारा संचालित कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ।
बोर्डको प्रतिवेदन अनुसार संघाई समुहद्वारा संचालन भएका कम्पनीहरु उत्पादनमुलक, व्यापार तथा सेवाको उद्देश्य राखी स्थापना भएका छन्। तर उनीहरुले कम्पनीको संचालक समितिको बैठकबाट निर्णय गराएर शेयरको खरिद विक्री गर्ने निर्णय गरी शेयर कारोबार गरिरहेका छन्।
एकै व्यक्तिले फरक -फरक कम्पनी दर्ता गरी सो कम्पनीहरु मार्फत् कारोबार गर्दा शेयर बजारमा अवान्छित प्रभाव पर्ने बोर्डले निष्कर्ष निकालेको छ। यसका लागि उक्त कम्पनीको नियामक निकायसँग समन्वय गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ। त्यस्तै नियमनकारी निकाय नभएका कम्पनीका सम्बन्धमा बोर्ड आँफै सक्रिय भई आवश्यक कारबाही प्रकृया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
कसको कम्पनी र कुन ब्रोकरबाट गर्छन् कारोबार ?
अर्थ सन्जाल