काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गत असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।
नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।
बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको समेत स्वीकृति आवश्यक हुने सम्झौता छ ।
अर्थ सन्जाल