काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि रोकिएको प्रक्रिया फेरि अघि बढ्ने भएको छ ।
अध्यक्ष नियुक्तिका लागि यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्तामा नगएका ३ जना आवेदकलाई अन्तर्वार्ताका लागि बोलाइएको हो । यसअघि गत असोज १८ गतेका लागि बोलाइएको भएपनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो ।
अर्थ मन्त्रालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै छनौट सूचीमा परेर अन्तर्वार्तामा सहभागि नभएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीलाई मन्त्रालयमा अन्तरवार्ता र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाएको जानकारी दिएको छ ।
अध्यक्ष सिफारिसका लागि अघिल्लो सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले जारी गरेको सूचनाअनुसार १९ जनाले आवेदन दिएकामा ५ जनालाई कार्यपत्र मूल्यांकन तथा अन्तर्वार्ताका लागि छनोट गरिएको थियोे ।
धितोपत्र ऐनमा अध्यक्षको नाम सिफारिस गर्दा योग्यता पुगेका ३ जनाको नाम छनोट गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पूरा गरी मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले १ जनालाई अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल