सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हो, प्रतिस्पर्धा होइन : खतिवडा

काठमाडौँ । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नभई सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ अन्तर्गत ‘नीति र समृद्धि’ विषयक सत्रमा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

‘सरकारका केही दायित्वहरू छन् । त्यसमा सरकारले निजी क्षेत्र र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने हो,’ उनले भने, ‘सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धीका रूपमा जाने होइन । यसले नै सरकारको आधार निर्धारण गर्छ ।’

उनले राज्य आफ्ना कर्तव्यबाट विमुख भए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्न नसकिने समेत बताए । ‘राज्यका केही आधारभूत कर्तव्यहरू छन् । त्यसबाट विमुख भयो भने हामीले संविधान निर्माण गर्न अघि खोजेको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने कुरा पूरा गर्न सक्दैनौं,’ उनले भने, ‘तर त्यो समाजवाद भनेको गरिबी बाँड्ने समाजवादको कुरा गरेको छैनौँ । समृद्धि सहितको समाजवाद भनेका छौं । समृद्धि आफैंमा न्यायपूर्ण हो ।’

खतिवडाले अहिलेको सरकार स्थिर रहने र अहिलेको राजनीतिक प्रणालीबाट पछि फर्किन कुनै दलले नचाहेको समेत दाबी गरे । उनले भने, ‘हामी उदारवादी नीतिमा फर्किएका छैनौँ भन्ने कुरा आएको छ । हामी आधारभूत कुराहरूबाट पछि फर्किन कुनै राजनीतिक दलले चाहेको छैन । देशमा स्थिरता छ भन्ने बुझे राम्रो हुन्छ ।’

उनका अनुसार समृद्धिसहितको समाजवादमा पुग्ने बाटो लामो भएकाले त्यहाँसम्म पुग्न बलियो लोकतान्त्रिक संस्था आवश्यक हुन्छ । साथै व्यक्तिगत स्वतन्त्रता र सामाजिक पुँजीको विकास आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *