काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी)को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो ।
यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।
ब्यूरोका एसपी होविन्द्र बोगटीकाअनुसार उनीहरू विदेशमा भएको आशंकासहित इन्टरपोलमार्फत खोजी गर्ने प्रक्रिया अघि बढाइएको थियो । इन्टरपोलबाट नोटिस जारी भएपछि अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन् ।
अर्थ सन्जाल