काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी तीन महिनाभित्र यो सबस्टेसनका काम सक्ने गरी अन्तिम चरणका कामहरु भइरहहेको छ ।
सोही आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन पनि डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण धमाधम भइरहेको छ ।
धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् । दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ ।
यी दुवै सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास प्राधिकरणको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गर्दै जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।
सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायत विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग उनले छलफल गरेका थिए ।
धारापानी क्षेत्रका स्थानीयबासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न घिसिङले आग्रह गरे । सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सँधै तयार रहेको उनले बताए । पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाइसकिएको उनले बताए ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।
आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ ।
पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यसखण्डमा पर्ने १९९ वटा टावरमध्ये १२५ वटाको जग हालिएको छ । ६५ वटा टावर खडा गरिएको छ । बाँकी स्थानमा काम भइरहेको छ ।
दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । तेस्रो प्याकेजअन्तर्गत धारापानी–खुदी– उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी–उदीपुर करिब १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ । ८ वटा खडा गरिएको छ ।
यस खण्डअन्तर्गत बेसीसहर नगरपालिका–८ का केही स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नु पर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन् । उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई भेटी खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे ।
निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताए । खुदी–धारापानी खण्डमा भौगोलिक रूपमा विकट र चुनौतीपूर्ण स्थानमा प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
अर्थ सन्जाल