अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्न नपर्ने

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा अनिवार्य आवश्यक पर्ने ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी)लाई सहज बनाउने भएको छ ।

नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था हुन लागेको हो ।

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि त्यसो गर्नु नपर्ने भएको हो ।

सरकारले यही १५ कात्तिकमा संशोधन गरेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डररङ्ग) निवारण नियमावलीमा बैंक खाता खोल्दा लगायत विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । गत असोजमा ऐन संशोधन भएपछि त्यसै अनुसार अहिले नियमावली पनि संशोधन भएको हो ।

नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७क बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिइ ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ ।

त्यस्तै ऐनको दफा ७क मा व्यवसायिक सम्बन्ध स्थापित गर्दा, खाता खोल्दा, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा, विद्युतीय माध्यमबाट वायर ट्रान्स्फर गर्दा ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शंका लागि थप सम्पुष्टि गर्नुपर्दा, सम्पत्ति शुद्धीकरण वा आतंककारी कार्यमा वित्तीय लगानी भएको शंका लागि थप सम्पुष्टि गर्दा, उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा वा नियमनकारी निकायले तोकेको अरु कुनै कार्य गर्दा ग्राकहको पहिचान गर्नु पर्ने र सोको सम्पुष्टि गर्दा भरपर्दो स्रोतबाट कागजात, तथ्यांक वा जानकारी प्रप्त गर्नुपर्ने उल्लेख छ ।

नियमावलीमा नयाँ व्यवस्था भएसँगै अब ग्राहकले हरेकपल्ट केवाईसी भरिराख्नु नपर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *