काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ । हालसम्म ५०.५ गुणा बढी आवेदन परेको छ ।
यस कम्पनीको एफपीओमा आज ५ बजेसम्म आवेदन दिन सकिनेछ । सोमबार साँझ ५ बजेसम्म कम्पनीको एफपीओमा कुल ११ लाख ७१ हजार ४६५ जनाले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।
सीडीएससीका अनुसार ती आवेदकले १ करोड ७७ लाख २३ हजार २२० कित्ता सेयर माग गरेका छन् । तर कम्पनीले भने जम्मा ३ लाख ५० हजार ९०४ कित्ता बिक्रीका लागि आवेदन माग गरेको हो । कम्पनीको माग र सोमबार साँझसम्म परेको आवेदनका आधारमा मागभन्दा ५०.५ गुणा बढी सेयरका लागि आवेदन परेको हो ।
कात्तिक १२ देखि कम्पनीको एफपीओमा आवेदन खुलेको हो । अंकित मूल्य १०० मै कम्पनीले एफपीओ खुलाएको हो । हाल बजार मूल्य प्रतिकित्ता ८९७ रुपैयाँ छ ।
अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
अर्थ सन्जाल