काठमाडौं। एकैदिन पाँच कम्पनीको लाभांश घोषणा भएकाे छ । कात्तिक १४ गते बुधबारका दिन विभिन सेक्टरका पाँच कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
आज नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स, सोल्टी होटल, विन्ध्यावासीनी हाइड्रोपावरले लभांश घोषणा गरेका छन् । यता लगानीकर्ताहरुको रोजाईमा रहेको नेपाल इन्फ्रास्टक्चर बैंकले भने लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारित गर्न होटलले पुस ४ गते ५०औं वार्षिक साधराणसभा पनि बोलाएको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहानको ११ बजेबाट शुरू हुनेछ । सभा प्रयोजनार्थ होटलले मंसि १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसका आधारमा १२ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
नबिल बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।
विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा भएको हो । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।
नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।
यससँगै शेयरधनीहरूले लाभांश नपाउने भएका छन् । बैंकको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।






