


काठमाडाैं। नेपालीहरुको दोस्रो ठुलो महान चाड तिहार नजिकै आइपुगेको छ । तिहारको आफ्नै विधि-विधान छन्, भाइपूजा यसैको एक अंश हो । चेलीबेटी र माइतीबीचको सम्बन्ध थप प्रगाढ बनाउने पर्वका रुपमा भाइपूजालाई लिने गरिन्छ।
भाइपूजामा विधिगत ढंगले पूजाआजा गरी एकअर्कामा उपहार आदनप्रदान गर्ने गरिन्छ । ढाका टोपी, सप्तरंगी टिका, सेलरोटी, सयपत्रीको माला यसपर्वमा अनिवार्य जस्तै छ । यो सँगसँगै भाइमसला पनि छुटाउनै नहुने सामाग्रीमा पर्छ ।
अहिले भाइमसला तिहारमा भाइ मसलाको मूल्य बजारमा छ्यापछ्याप्ती छन् । त्यसमा भाइमसलासँगै चकलेट वा कृतिम खानेकुराहरु पनि राख्ने गरिन्छ ।सामान्यदेखि महंगोसम्मका प्याकेटमा भाइमसला पाइन्छन् । माइतीको सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै दिइने भाइमसला सकेसम्म प्राकृतिक खानेकुराहरु जस्तै ओखर, बदाम, नरिवल, किसिमिस, काजु आदिले भरिपूर्ण भएको हुनुपर्छ भन्ने प्रचलन छ।
पसलैपिच्छे फरक-फरक मूल्य
अहिले बजारमा भाइमसलाकाे मूल्य छोइनसक्नु भएको गुनासो ग्राहकले गर्ने गरेका छन् । सामानको मूल्य पसलैपिच्छे फरक-फरक छन् । व्यापारीहरू बाहिरबाटै मूल्य बढेर आएको छ भन्दै आ- आफ्नाे मनाेमानी ढंगले मूल्य बढाउँदै बिक्री गर्दै आईरहेका छन् जसले गर्दा ग्राहक कृतिम मूल्य वृद्दिको मारमा पर्ने गरेका छन् ।
एकातर्फ यसमा राज्यको ध्यान जान सकेको अवस्था छैन भने अर्कोतर्फ राज्यको अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता नराम्रोसँग ठगिएका छन्। त्यसमा पनि बजारमा बिक्री वितरण भइरहेका मसलाको मूल्य र यसको गुणस्तरबारे राज्यको अनुगमन निकै फितलो छ ।
तिहारका लागि आवश्यक मानिने मसलाजन्य वस्तुमा नेपाल परनिर्भर छ । जसले गर्दा तिहारमा मात्रै अर्बौं रुपैयाँको भाइमसला आयात हुँदै आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।
तिहारमा भाइमसालका अलवा झिलिमिली बत्ती, पाला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन लगायत सामग्री अधिक बिक्री हुने गरेका छन् । यी सामानहरू पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन।
यस वर्ष काजु, सुकमेल र बदामको मूल्य अत्यधिक बढेको छ । गत वर्ष प्रतिकिलो १५०० देखि १६०० रुपैयाँमा बिक्री भएको काजुको मूल्य यसपटक किलोमै ६ सय रुपैयाँसम्म बढेको छ । त्यसैगरी गतवर्ष १२०० रुपैयाँ रहेको बदाम यस वर्ष १७०० रुपैयाँसम्म पुगेको छ ।
पेस्ताको मूल्य प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म रहेको छ । किसमिस ५५० देखि ७००, छोकादा ४५० देखि ५००, ओखर ५५० देखि ६००, मरिच १८००, ल्वाङ २००० देखि २४०० सम्म, दालचिनी ८००, र मखना २००० रुपैयाँ प्रतिकेजी रहेको छ ।
गत वर्ष २ हजार ५ सय रुपैयाँमा बिक्री भएको सुकमेलको मूल्य झन्डै दोब्बरले बढेको छ । यस वर्ष सुकमेलको मूल्य ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ ।
सुपारीको मूल्य पनि प्रतिकिलो पाँच सय रुपैयाँसम्म महँगिएको छ । एक वर्षको अवधिमा सुपारी १ हजार ३ सय रुपैयाँबाट बढेर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी, अलैची ४०००, मिश्री १८० देखि २६० रुपैयाँ, खुर्पानी १२०० रुपैयाँ, नरिवल ५५० देखि ६०० रुपैयाँ र अन्जिर २२०० रुपैयाँमा कारोबार भइरहेको छ। खुद्रा व्यापार संघको तथ्यांक हेर्ने हो भने अधिकांश सामानको मूल्य बढेको छ।
नेपालमा भाइमसलाजन्य सामग्री भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ ।

खकेन्द्र बहादुर बुढा