काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर एमालेको जनसंगठन समेत रहेको महासंघका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार : सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो ।
उक्त कार्यक्रममा महासंघका संयोजक भागिरथ सापकोटाले अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितीबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।
साथै आफुहरुले सबै क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गरी सबैको प्रतिनिधित्व हुनेगरी निजी क्षेत्रका सवाल तयार पारेको भन्दै त्यसलाई कार्यान्यन गर्न आफु मातहतका निकायलाई तत्काल निर्देशन दिन समेत महासंघले माग गरेको छ ।महासंघले केही समय अघि निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमबाट आएका निचोड र अहिले उद्योगी व्यवसायीले भोगिरहेका समस्यामा विषय तयार गरी प्रधानमन्त्रीलाई बुझाएको हो । जसमा उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका उपाय, कर प्रणाली एवं राजस्व प्रशासन सुधारका विषय र सरकारले तत्काल र दिर्घकालिन रुपमा लिनुपर्ने कदमका विषयहरु उल्लेख गरिएको छ ।विशेषगरी साना तथा मझौला रूग्ण उद्योगहरूको संरक्षण, लगानीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको र ठूला उद्योगमा थप लगानीको वातावरण बनाई पूँजी पलायनलाई रोक्नुपर्ने तथा राष्ट्रिय पूँजी निर्माण गर्नुगर्ने लगायतका चुनौतीहरु रहेको उक्त सुझावमा उल्लेख छ ।
यस्तै मुलुकमा औद्योगिक विकास भए मात्र रोजगारीको आधार सिर्जना हुने भन्दै यसलाई महासङ्घले मात्र होइन सरकार र आम जनताले समेत मनन गर्नुपर्ने सापकोटाले बताए ।
अर्थ सन्जाल