


काठमाडौं। रेमिट्यान्स आम्दानी दैनिक उपभोगमै सकिने गरेको छ। यसबाट दैनिक आवश्यकता पूरा भएको भए पनि उत्पादनशील क्षेत्रमा रेमिट्यान्सको उपभोग बढाउन सकिएको छैन। हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको छ।
पछिल्लो समय नेपालमा भित्रिने रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी हुन सकेन भन्ने गुनासो आइरहेको छ । कामको खोजीमा विदेश जाने नेपालीको संख्या र उनीहरूले पठाउने गरेको रेमिट्यान्समा उल्लेख्य वृद्धि भइरहेको सन्दर्भमा उक्त रकम कहाँ लगानी भएको छ ? भन्ने बिषय पनि उतिकै चासो बनेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/०८० का अनुसार देशभरका परिवारमध्ये ७६.८ प्रतिशत रेमिट्यान्स प्राप्त गरेको देखिन्छ । यस्ता घरपरिवारले औसतमा रु.१ लाख ४५ हजार ०९३ प्राप्त गर्ने गरेको तथ्यांकले देखाएको छ। यी घरपरिवारले प्राप्त गर्ने रेमिट्यान्समध्ये २९.३ प्रतिशत स्वदेश भित्रबाट, २१.३ प्रतिशत भारतबाट र ४९.४ प्रतिशत भारत बाहेकका अन्य मुलुकबाट प्राप्त हुने गर्दछ।
तथ्यांकअनुसार घरपरिवारले प्राप्त गरेको रेमिट्यान्स मुख्य रुपमा रेमिट्यान्सको सबैभन्दा बढी प्रयोग दैनिक उपभोगमा हुने गरेको पाइएको छ । दैनिक उपभोगमा ७२.४ प्रतिशत, ऋण तिर्ने १५.८, शिक्षामा ४.६, १.९ घरायसी सरसामान खरिदमा १.९ प्रतिशत, १.९ बचत र १.२ पुँजी निर्माणमा खर्च हुनेगरेको पाईएको छ।
।

अर्थ सन्जाल