काठमाडौं। प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङमा दुई वटा पुलको डिपिआर सर्वे भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुङ्गे पुलको बुधबार डिपिआर सर्वे गरिएको हो ।
प्रतिनिधि सभा सदस्य भट्टचन, पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङ गएको थियो । ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङको उच्चस्थानमा रहेको मुस्ताङको पवित्र धार्मिक स्थल दामोदरकुुण्ड जाने पदमार्ग सडकमा पुल सर्वे गर्न हेलीमार्फत त्यहाँ पुगेका थिए । उनीहरुले उक्त पदमार्गको भर्सा खोलामा झोलुङ्गे पुलको डिपिआर सर्वे गरेका हुन् ।
दामोदर कुण्ड तिर्थ यात्राका लागि त्यसपदमार्गको भर्सा खोलामा झोलुङ्गे पुल स्थापना भएमा करिव ४ घण्टाको पैदल यात्रा दुरी छोट्टिन जनाइएको छ । दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिव ५ हजार १०७ मिटरको अग्लो उचाईमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भईरहेकाले डिपिआर सर्वे अघि बढाईएको सस्पेन्स ब्रिज डिभिजनका ईन्जिनीय प्रवेश रेग्मीले जानकारी दिए ।
दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने ईन्जिनीयर रेग्मीले बताए । उनले समुन्द्री सतहको उच्च उचाईको क्षेत्रमा पुल निर्माणका लागि डिपिआर सर्वे भएको जनाए । भगवान बिष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोमसोम—कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । यारा हुँदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिव ९ घण्टाको समय लाग्छ । भर्सा खोलामा पुल नहुदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र आरोलो झर्नु पर्ने हँुदा पैदलयात्राको दुरी लम्बिएको हो । पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पुरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । उनले दामोदकुण्ड जाने भर्सा खोलामा झोलुङ्गे पुलको आवश्यकता रहेको सुनाए ।
मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट—गुरुसाङ्वो जोड्ने अर्को एक झोलुङ्गे पुलको पनि डिपिआर सर्वे भएको प्रतिनिधि सभा सदस्य भट्टचनले जानकारी दिए । उनका अनुसार गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको छ ।
सस्पेन्स ब्रिज टोलीका प्राविधिक इन्जिनीयरले त्यसस्थानमा पुगेर डिपिआर सर्वे गरेका हुन् । थासाङको नाउरिकोट—गुरुसाङ्वो गुफा जोड्ने पुल निर्माणको डिपिआरका लागि प्रतिनिधिसभा सदस्य देवीप्रकाश भ्टटचनसहित पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनसहित प्राविधिक ईन्जिनीयरहरुको टोली त्यसक्षेत्रमा पुगेको थियो । त्यहाको प्रारम्भिक सर्वेमा करिव ४७० मिटर लामो झोलुङ्गे पुलको आवश्यकता महशुस गरिएको छ ।
थासाङको नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ्गे पुल निर्माणका लागि यसअघिनै रातो किताबमा योजना समावेश भईसकेको छ । डिपिआर फाईनल भएपछि पुल निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अघि बढ्ने संस्पेन्सन ब्रिज डिभिजनले बताएको छ । डिभिजन टोलीले दुबै स्थानमा पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाईने बताइएको छ । नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ पुल निर्माण भएमा करिव आधा घण्टाको पैदल उकालो दुरी छोट्टिने जनाइएको छ ।
अर्थ सन्जाल