काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उमेदवारको खर्च सीमा तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै खर्चको हद तोकिएको जानकारी दिए ।
महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारका लागि ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारले ३ लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्षका उमेदवारले ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष उमेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका वडा अध्यक्षका उमेदवारले २ लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उमेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्नसक्ने गरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
अर्थ सन्जाल