काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटेकाे छ ।
डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।
हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिललगायत कारखानाको पनि विद्युत काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो ।
उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो । प्राधिकरणकाअनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएका थिए ।
अर्थ सन्जाल