पोखरा । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका पूर्वसञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लगिँदै छ ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको र अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरेकी छन् ।
‘अहिले प्रमाण बुझिरहेको अवस्था छ । पहिला कागजात देखाएर त्यसैको आधारमा बयान लिने हो, प्रमाणहरु नजुटिसकेको अवस्थामा बयानलाई प्राथमिकता नदिइएको हो ।’ उनले भनिन्, उनका अनुसार कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान लिपिबद्ध भइसकेको छैन ।