तीन महिनामा वाणिज्य बैंकले कमाए १६ अर्बबढी, नबिल बैंकको नाफा सर्वाधिक

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको नाफा औसतमा २१.६३ प्रतिशतले बढी हो ।

यस अवधिमा सर्वाधिक  नाफा वृद्धि  गर्नेमा सिद्धार्थ बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल बैंक र कुमारी बैंक छन् । यी बैंकले ३०० प्रतिशतभन्दा बढीले नाफा बढाएका  छन् । गत वर्षको तीन महिनामा २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको कुमारी बैंकले यो वर्षको तीन महिनामा एक अर्बभन्दा बढी नाफा आर्जन गरेको छ ।

चालु वर्षको ३ महिनामा सबैभन्दा बढी नाफा भने नबिल बैंकले कमाएको छ । यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने यो बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा   ७ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । नाफा घट्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक , हिमालयन बैंक , राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

जसअनुसार  प्राइम बैंकले एक अर्ब २८ करोड, एनएमबी बैंकले एक अर्ब १४ करोड कमाएको छ भने एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, अन्य करोड क्लवमा रहेर नाफा कमाउने कुमारी बैंकले एक अर्ब सात करोड, प्रभु बैंकले एक अर्ब चार करोड मुनाफा कमाएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले ८६ करोड, नेपाल एसबीआई बैंकले ८१ करोड, हिमालयन बैंकले ७२ करोड, नेपाल बैंकले ६० करोड, लक्ष्मी सनराईज बैंकले ५३ करोड, माछापुच्छ्रे बैंकले ५० करोड, सानिमा बैंकले ३९ करोड, सिद्धार्थ बैंकले ३८ करोड, सिटिजन बैंकले २४ करोड, कृषि विकास बैंकले १९ करोड, राष्ट्रिय बाणिज्य बैंकले १५ करोड र एनआईसी एसिया बैंकले ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *