काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ ।
चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारावही गरिएको हो ।
राष्ट्र बैंकले सिन्धु विकास बैंक, साल्पा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी, गोर्खाज फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी र रिलायन्स फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
पहिलो त्रैमासमा सिन्धु विकास बैंक र सालपा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै केन्द्रिय बैंकले कारवाही गरेको हो । राष्ट्र बैंकले यी दुई बैंकका संचालक र सीईओलाई सचेत गराएको छ ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै कारवाही गरेको हो । मितेरीका संचालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, रिलायन्स फाइनान्सलाई भने नगद जरिवाना तिराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै कारवाहीमा परेका छन् ।
गोर्खाज फाइनान्सका संचालक र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको भन्दै सचेत गराइएको हो ।
कम्पनीका तत्कालीन अध्यक्ष–संचालक संस्थाको ऋणी–ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरू मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको केन्द्रिय बैंकले जनाएको छ ।
अर्थ सन्जाल