मनी म्युलको जोखिमबाट बच्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मनी म्युल जस्तो वित्तीय अपराधबाट जोगिन सचेतना फैलाउँदै बैंक तथा वालेट खाताको विवरण कसैलाई पनि नदिन सुझाव दिएको छ। बैंकले आम नागरिकलाई वित्तीय सचेत रहन र अपराधबाट बच्न बैंक वा वालेटको जानकारी कुनै पनि व्यक्तिलाई नदिन अनुरोध गरेको छ। यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरेको हाे।

राष्ट्र बैंकले भनेको छ, ‘के तपाईंले आफ्नो बैंक खाता वा वालेट अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुभएको छ ? यदि छ भने, तपाईं मनी म्युल हुन सक्नुहुन्छ।’

अपराधीहरूले मानिसहरूलाई विभिन्न माध्यमहरू जस्तैः इमेल, फेसबुक मेसेन्जर, भाइबर, व्हाट्सएप, टेलिग्राम जस्ता सामाजिक सञ्जालमार्फत छिटो र आकर्षक आम्दानीका प्रस्ताव पठाई झुक्याउने गर्दछन्। यस्ता प्रस्तावमा फस्दा मानिसहरूलाई आफ्नो बैंक खाता वा वालेटको गोप्य विवरण दिइ आफ्नो खाता आपराधिक कार्यका लागि प्रयोग गर्न दिने खतरा रहन्छ।

राष्ट्र बैंकका अनुसार मनी म्युल अपराधमा संलग्न अपराधीहरूले पीडितको खातामा अवैध रुपमा कमाएको रकम जम्मा गरी त्यसलाई नगदमा झिक्ने वा अन्य खातामा रकमान्तर गर्ने गर्दछन्। यस्तो कार्य सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर वित्तीय अपराध अन्तर्गत पर्दछ र यसमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *