काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् ।
आजदेखि सुरू गरिएको उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सकिनेछ ।
ट्राफिक प्रहरीका अनुसार डिजिटल चिटको कार्यान्वय पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयनमा हुनेछ । यसका लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइसकिएको छ ।
ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ । यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् ।
अर्थ सन्जाल