बाढीले क्षति पुर्याएको खिम्ती-लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावर आपतकालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोसी नदीमा आएको बाढीले रामेछाप मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती-लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो ।

टावर बगाएपछि उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्ती हुँदै काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको छ । उक्त लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाका विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ, भारततर्फको विद्युत् निर्यात समेत प्रभावित भएको छ, त्यसैले ईआरएस संरचना प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’

उनले अहिले ईआरएस मार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे ।

स्थानीय जनप्रतिनिधिको रोहवरमा उनीहरूसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब चार दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखा प्रमुख मनोज साहले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *